देश

सयौँ उद्योग बन्दहुँदा ३० हजार श्रमिक बेरोजगार

इटहरी, भदौ १—सुनसरी मोरङ औद्योगीक करिडोरका सयौँ उद्योग बन्द हुँदा हजारौँ श्रमिकको रोजगारी खोसिएको छ । सो क्षेत्रमा कुल १ सय ७ उद्योग बन्द हुँदा ३० हजार बढी श्रमिकको रोजगारी गुमेको हो ।

सरकारले एक वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरिरहेका बेला सुनसरी मोरङ औद्योगिक कोरिडोरका सयभन्दा बढी उद्योग बन्द हुँदा हजारौं श्रमिकको रोजगारी गुमेको छ । प्रमुख औद्योगिक शहर बिराटनगर, दुहबी र खनारमा सञ्चालित उद्योगहरु सरकारको बेवास्ताले गर्दा घरासायी भएर बन्द भएको र अन्य उद्योग पनि बन्द अवस्थामा पुगेको उद्योगीहरुको गुनासो छ ।

सुनसरीमोरङ औद्योगिक करिडोर आसपासका क्षेत्रमा साना(ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् । यीमध्ये १५० वटा ठूला र मझौला उद्योग खुलेकोमा अहिले १०७ वटा त्यस्ता उद्योग बन्द भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । बन्द भएका यी १०७ उद्योगमा २३ अर्बको लगानी थियो भने ३० हजार श्रमिकले रोजगारी पाएका थिए ।

हाल सम्म अशोक टेक्सटायल, प्रभात टेक्सटायल लगायत आधा दर्जन भन्दा बढी टेक्सटायल उद्योगहरु बन्द भएका छन् । त्यसैगरी दुहबीको बंशल इण्डष्ट्रिज (पाइप उद्योग) बन्द भएको छ । आइरन उद्योग, कर्कट पाता र पाइप उद्योगहरु पनि बन्द भएका छन् ।

अम्बे, सांग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिक, जस्ता तयारी पोशाकका ठूला उद्योग पनि यसबीचमा बन्द भएका छन् । ठूलो स्वदेशी लगानीका पशुपति सावन, अन्नपूर्ण सप, नेशनल पाइप लगायतका दर्जन बढी नाम चलेका उद्योग बन्द भएका छन् । मोरङ—सुनसरीमा ११ वटा ठूला जुट उद्योगहरु सञ्चालनमा थिए । अहिले ५ वटा मात्रै सञ्चालनमा रहेको उद्योगी राजकुमार गोल्छाले बताए ।

विदेशी लगानीका बंशल नेपाल, क्रिस्टेन, सूर्य नेपाल लगायत करिव एक दर्जन उद्योग बन्द भएका छन् । वंशल र क्रिस्टेनले कर्कट पाता एवं जीआइपी पाइप उत्पादन गरी भारत लगायतका मुलुकमा तयारी वस्तु निर्यात गर्दै आएका थिए । सूर्य नेपालबाट उत्पादित तयारी वस्तु विभिन्न मुलुकमा निर्यात हुँदै आएको थियो । यस करिडोरमा सञ्चालित उद्योगमध्ये १९ प्रतिशतले उत्पादित वस्तुहरु विदेश निर्यात गर्दै आएका छन् । निरन्तर उद्योगहरु धारासायी बन्दै गएपनि सरकारले भने ठोस कदम चाल्न नसकेको उद्योगी व्यवसायीको गुनासो छ।