विदेश

भारतीय सीमामा सुराकी गर्न ‘रअ’ निकटको टुटु रेजिमेन्ट

Jammu and Kashmir, Jan 26 (ANI): Army Jawans patrolling near the snow-covered border on the occasion of 71st Republic Day in Kupwara on Sunday. (ANI Photo)

एजेन्सी, असार १३-अक्टोबर २०१८ को कुरा हो, इस्टोनियाकी चर्चित गायिका यना कास्क भारत आएकी थिइन् । उनी आफ्नो एक म्युजिक भिडियो भारतमा शुटिङ गर्न चाहन्थिन् र यसका लागि उनले उत्तराखण्डको चकराता क्षेत्रलाई छानेकी थिइन् ।

देहरादुनबाट करिब १ सय किलोमिटर टाढा रहेको चकराता एक सुन्दर पहाडी इलाका हो । यहाँ यना आफ्ना साथीहरुसँग शुटिङ गरिरहेकी थिइन् । तर अचानक स्थानीय गुप्तचर एकाईले यसबारे जानकारी पायो र यना तथा उनका साथीहरुलाई तत्कालै हिरासतमा लियो ।

उनलाई देश छाडेर जाने सूचना दिइयो र स्थानीय प्रहरीले केन्द्र सरकारलाई यनालाई ‘ब्ल्याक लिस्ट’ मा राख्न अनुरोध ग¥यो । यसको उद्देश्य उनी पुनः भारत आउन नसकुन् भन्ने थियो । चकराता क्षेत्र प्रतिबन्धित भएका कारण यसो गरिएको थियो ।

यहाँ केन्द्रीय गृहमन्त्रालयको अनुमति बिना कुनै विदेशी नागरिकलाई जाने अनुमति छैन । यनालाई यसबारेमा जानकारी थिएन र उनी कसैलाई जानकारी नदिई यो क्षेत्रमा पुगेकी थिइन् ।

यना मात्रै होइन, धेरैजसो भारतीयलाई समेत यो क्षेत्रमा विदेशीलाई जान प्रतिबन्ध रहेको जानकारी छैन । यो क्षेत्र सामरिक दृष्टिले धेरै संवेदनशील छ । यहाँ विदेशीलाई जान रोक लगाउनुको कारण भनेको भारतीय सेनाको अत्यन्तै गोप्य टुटु रेजिमेन्ट हो ।

टुटु रेजिमेन्ट भारतीय सैन्य शक्तिको त्यो भाग हो, जसका बारेमा धेरै कम जानकारी सार्वजनिक रुपमा उपलब्ध छ । यो रेजिमेन्ट आज पनि गोप्य रुपमा काम गर्छ र यसबारेमा कुनै प्रमाण सार्वजनिक गरिदैन ।

टुटु रेजिमेन्टको स्थापना सन् १९६२ मा भएको थियो । यो समयमा नै भारत–चीन युद्ध चलिरहेको थियो । तत्कालीन आईबी प्रमुख भोलानाथ मलिहको सुझावमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले टुटु रेजिमेन्ट बनाउने निर्णय गरेका थिए ।

यो रेजिमेन्ट बनाउनुको उद्देश्य भनेको यस्ता लडाकू निर्माण गर्नु थियो, जसले चीनको सीमामा घुसेर लद्दाखजस्ता कठिन भौगोलिक ठाउँमा लड्न सकून् । यो काम गर्नका लागि तिब्बतबाट शरणार्थी बनेर आएका युवाभन्दा प्रभावकारी कोही हुन सक्दैन थियो । उनीहरु तिब्बती क्षेत्रबारे समेत परिचित हुन्छन् ।

जुन कठिन भौगोलिक क्षेत्रमा अन्य मानिसहरु जाँदा असहजता महसुस हुन्छ, त्यही क्षेत्रमा उनी दौडिदै, खेल्दै हुर्र्किएका हुन्छन् । यसकारण तिब्बती शरणार्थी युवालाई भर्ती गरेर एक फौज तयार गरियो । भारतीय सेनाका रिटायर्ड मेजर जनरल सुजान सिंह यो रेजिमेन्टको पहिलो आईजी नियुक्त भएका थिए ।

सुजान सिंहले दोस्रो विश्वयुद्धमा २२ औं माउन्टेन रेजिमेन्टको नेतृत्व गरिसकेका थिए । यसकारण नयाँ बनेको रेजिमेन्टलाई ‘इस्टाब्लिशमेन्ट २२’ अर्थात टुटु रेजिमेन्ट पनि भन्न थालियो ।

टुटु रेजिमेन्टको सुरुवाती समयमा तालिम दिने काम अमेरिकी गुप्तचर एजेन्सी सीआईएले गरेको थियो । यो रेजिमेन्टका जवानलाई अमेरिकी सेनाको विशेष टुकडी ‘ग्रीन बेरेट’ को जस्तै तालिम दिइएको थियो । यतिमात्रै होइन टुटु रेजिमेन्टलाई एम–१, एम– २ र एम–३ जस्ता हतियार पनि अमेरिकाले नै दिएको थियो ।

यो रेजिमेन्टका जवान भर्तीको प्रक्रिया पूरा नहुँदै नोभेम्बर, सन् १९६२ मा चीनले एकतर्फी रुपमा गलवान क्षेत्रमा युद्धबिराम घोषणा ग¥यो । तर त्यसपछि पनि टुटु रेजिमेन्ट विघटन गरिएन । त्यसपछि कुनै समयमा चीनसँग युद्ध भएमा यो रेजिमेन्ट मजबुत हतियार बन्ने भन्दै त्यसलाई निरन्तरता दिइयो ।

टुटु रेजिमेन्टका जवानलाई विशेष गरी गुरिल्ला युद्धका लागि तालिम दिने गरिन्छ । उनीहरुलाई ‘रक क्लाइम्बिङ’, ‘प्यारा जम्पिङ’ को विशेष तालिम दिइन्छ र अति कठिन परिस्थितिमा पनि बच्ने उपाय सिकाइन्छ ।

टुटु रेजिमेन्टलाई सन् १९७१ मा बंगलादेश युद्धमा प्रयोग गरिएको थियो । जहाँ यसका जवानलाई विशेष अपरेशन इगलमा सामेल गरिएको थियो । यो अपरेसनका क्रममा यो रेजिमेन्टका ४६ जनाको मृत्यु भएको थियो । यसपछि सन् १९८४ मा अपरेशन ब्लुस्टार, अपरेसन मेघदूत र सन् १९९९ मा भएको कारगिल युद्धका क्रममा अपरेसनमा टुटु रेजिमेन्टको भूमिका थियो ।

यो रेजिमेन्टका जवानको सबैभन्दा पीडाको विषय भनेको नै आफ्नो कुर्बानीको बदलामा अन्य सैनिक जवानको जस्तो सार्वजनिक सम्मान कहिल्यै पाएनन् । यसपछिको कारण भनेको टुटु रेजिमेन्ट अत्यन्तै गोप्य रुपमा काम गर्छ । यसका गतिविधि कहिल्यै पनि सार्वजनिक हुँदैनन् ।

यसै कारण सन् १९७१ मा मारिएका टुटु जवानले न त कुनै मेडल पाए, न त कुनै सम्मान र पहिचान नै । जसरी ‘रअ’ का लागि काम गर्ने गुप्तचरको गुमनाम मृत्यु हुने गर्छ, त्यसरी नै टुटु जवानले पनि मृत्युमा कुनै पहिचान पाउँदैनन् ।

पछिल्ला केही वर्षदेखि टुटु रेजिमेन्टका जवानलाई पनि भारतीय सेनाका जवानसहित तलब सुविधा दिन थालिएको छ । दिल्ली उच्च अदालतले केही वर्ष अघि भनेको थियो, ‘यी जवान न त भारतीय सेनामा छन्, न त भारतीय नागरिक हुन् । तर यसका बाबजुद पनि उनीहरु भारतीय सीमाको रक्षाका लागि हाम्रा जवानका साथमा काँधमा काँध मिलाएर खडा छन् ।’

टुटु रेजिमेन्टको काम गर्ने तरिकाको कुरा गर्ने हो भने आधिकारिक रुपमा यो भारतीय सेनामा सामेल छैन । यद्यपि यसको कमाण्ड नियुक्त भएर आएका कुनै सैनिक अधिकारीको हातमा नै हुन्छ । पूर्व भारतीय सेना प्रमुख दलवीर सिंह सुहागले पनि टुटु रेजिमेन्टको नेतृत्व सम्हालिसकेका छन् ।

यो रेजिमेन्ट सेनाको सट्टा ‘रअ’ र क्याबिनेट सचिवको माध्यमबाट सिधै प्रधानमन्त्रीलाई रिपोर्ट गर्छ । सुरुवाती चरणमा टुटु रेजिमेन्टमा तिब्बतीलाई मात्रै भर्ती गरिन्थ्यो । तर अहिले आएर गोर्खाली सेनालाई पनि टुटु रेजिमेन्टमा सामेल गर्ने गरिन्छ । यो रेजिमेन्टको रिक्रुटमेन्ट पनि सार्वजनिक गरिदैन ।

टुटु रेजिमेन्टमा आज पनि कति जवान छन्, कति अफिसर छन्, यिनीहरुको बेसिक र एडभान्स्ड तालिम कसरी हुन्छ र यो काम कसरी गरिन्छ भन्ने कुरा रहस्यमै छ । टुटु रेजिमेन्टको उद्देश्य आज पनि त्यही हो, जुन स्थापना कालमा थियो, भारतीय सेनाको सबैभन्दा बलियो हतियारका रुपमा प्रयोग हुनु ।

Featured