देश

भारतले धौलीगंगा बाँध खोल्दै, सावधानी अपनाउन आग्रह

डडेल्धुरा, ११ असार-भारतले दार्चुला सदरमुकाम खलंगाभन्दा माथिल्लो क्षेत्रमा निर्माण गरेको धौलीगंगा जलविद्युत् परियोनाको बाँधको ढोका खोल्ने भएको छ । यहि असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुकी ६:४५ बजेसम्मको लागि धौलीगंगा बाधको ढोका खोल्ने भएको हो ।

धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको काम गर्ने भन्दै बाँधको ढोका खोल्न लागेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधको ढोका खोल्दा महाकाली नदी तटीय क्षेत्रमा आवतजावत हुन नदिन पिथौरागढ प्रशासनले दार्चुला जिल्ला प्रशासनलाई पत्रचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले यो अवधिमा व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकमको लालीसम्मका स्थानीयलाई नदी किनारमा नजान तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले महाकाली नदी किनारमा गएर बालुवा निकाल्ने, गाई वस्तु लगाउने, नुहाउने, तथा दाउँरा संकलन नगर्न आग्रह गरेका छन्।

वर्षातको समयमा महाकाली नदीमा पानीको बहाव बढ्दै गएको अवस्थामा ड्यामको पानी छोड्दा झन बढ्ने भन्दै सबैमा सतर्कता अपनाउन उनले आग्रह गरेका हुन् ।

यता बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्ला बासिलाई आग्रह गरेका छन् ।

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको प्रजिअ जोशीले जानकारी दिए । यसअघि भारतले २०७० सालको असारमा परियोजनाको ड्यामको बाँध जानकारीविनै खोल्दा दार्चुला र धार्चुला दुवैतिर क्षति भएको थियो ।

Featured