देश

रुकुम हत्याकाण्डको प्रमाण नष्ट गर्न खोजिएको भन्दै दलित मुक्ति संगठनद्धारा प्रदर्शन

विराटनगर, असार १०–रुकुम हत्याकाण्डको प्रमाण नष्ट गरि अपराधिलाई बचाउन खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कै जनवर्गिय संगठन नेपाल दलित मुक्ति संगठन मोरङले रुकुम पश्चिम चौरजहारीमा भएको हत्या काण्डका दोषिलाई उम्काउन खोजिएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

संगठनले केन्द्रीय सर्कुलर बमोजिम मोरङसहित देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको हो । रुकुम पश्चिम चौरजहारीमा प्रेम सम्बन्धको विषयलाई लिएर अमानविय तथा क्रुर ढंगले नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

सो हत्याकाण्डको मौजुदा प्रमाण नष्ट गर्ने प्रयास गरिएको, मृतक युवाहरुको पोष्ट मार्टम रिपोर्ट चिकित्सकले गलत बनाएको, धनुषामा शम्भु सदा झुण्डिएको अवस्थामा फेला परेको घटनाको छानविन गर्नुपर्ने भन्दै दलित मुक्ति संगठन मोरङको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो ।

चौरजहारी घटनाका दोषिलाई हदै सम्मको कारवाही गर, दलित माथि हुने सवै किसिमका अन्याय, अत्याचार र विभेदको अन्त्य गर, कि त दलितलाई प्रेम गर्ने अधिकार नै छैन भन्ने हिम्मत गर, कित दलितले गरेको प्रेमलाई स्वीकार गर्ने आँट गर, रुकुम हत्याकाण्डका पीडितलाई न्याय दे लगायतका नारा लेखिएको प्ले कार्ड सहित विरोध प्रदर्शन गरिएको हो ।

विरोधसभामा राष्ट्रिय सभाका निवर्तमान सांसद खेम नेपालीले प्राप्त प्रमाण नष्ट गरि रुकुम पश्चिम चौरजहारी हत्या काण्डका दोपिलाई उम्काउने प्रयास गरिएको बताए । उनले चिकित्सकले मृतकको पोष्ट मार्टमको रिपोर्ट समेत गलत बनाएर दोषिहरुलाई बचाउन खोजिएको बताए ।

नेकपाका नेता समेतरहेका नेपालीले हत्याकाण्डका दोषिमाथि हदै सम्मको सजाय नभएसम्म सिंगो दलित समुदायले न्याय नपाउने बताए । उनले चौरजहारी हत्याकाण्ड मात्र नभई देशभर दलित समुदाय माथि हुनृे जातीय विभेदका घटना र अपराध बढेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरे ।

प्रदर्शनमा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेललेसमेत ऐक्यवद्धता जनाएका थिए । प्रदर्शनमा नेकपा विराटनगर महानगर कमिटी सचिव हेम कार्की, कटहरी गाउँपालिका अध्यक्ष तथा दलित मुक्ति संगठनका नेता जितनारायण सरदार, दलित मुक्ति संगठन मोरङका फ्राक्सन इन्चार्ज कपिल सुनार, राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मालगायत जिल्लाका दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

Featured