देश

सुदूरपश्चिममा अहिलेसम्मकै धेरैमा कोरोना पुष्टि

धनगढी, १० असार-सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष गरी ८५, कैलालीका ९ महिला र ३९ पुरुषसहित ४८, डोटीका १० महिला र ३८ पुरुष गरी ४८, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

यसैगरी आजै वीर अस्पतालको प्रयोगशालामा अछामका एक महिला र १३ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आजै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुषसहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Featured