देश

मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरा, १० असार-पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै जलेर नष्ट भएको छ । घरमा आगो लगाउने पौडेललाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व दुर्व्र्यसनीसमेत रहेका पौडेल ३ महिना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए । ‘आगजनी गरेपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ,’ डिएसपी हमालले भने, ‘जनकले यसअघि समेत मादक पदार्थ सेवन गरेर घरपरिवारलाई गालीगलौज गर्नुका साथै कुटपिटसमेत गर्ने गरेका कारण उनलाई सुधार गृहमा राखिएको थियो ।’

३ महिना सुधारगृहमा बसेपछि ५ दिनअघि मात्र उनी घर फर्किएको स्थानीय देवी बस्यालले बताए । घरभित्र आगो लगाएपछि घरको छतमा गएर बसेका जनकलाई प्रहरीले बाहिर निकालेको थियो ।

Featured