डडेल्धुरा, ७ असार-ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ । आइतबार फाउन्डेसनले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको हो ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक दिउँसो अत्तरिया पुगेको थियो ।
त्यहाँबाट सो मेसिन बुझेर डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझा डडेल्धुरातर्फ आएका छन् । मेसिन जडान गर्ने प्राविधिक पनि सँगै आएकाले भोलिबाटै जडानको काम सुरु गर्ने अध्यक्ष ओझाले बताए ।
‘भोलिबाटै पीसीआर मेसिन जडानको काम गर्छौ । अबको एक हप्ताभित्रै काम सकेर मेसिन सुचारु हुन्छ,’ अध्यक्ष ओझाले भने । मेसिन अस्पताललाई हस्तान्तरण गरेको ह्युम्यानिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए ।
पीसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस