देश

क्वारेन्टाइनमै आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि

डडेल्धुरा, ४ असार-सुदूरपश्चिममा क्वारेन्टाइनमै आत्महत्या गरेका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाजुराको बडीमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो ।

बुधबार आएको रिपोर्टमा उनीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । बडीमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार साँझ क्वारेन्टिनमा आत्महत्या गरेका थिए ।

उनी २८ गते मात्रै भारतबाट आएर क्वारेन्टिनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रशाद भट्टराइले बताए । उनले के कति कारणले आत्महत्या गरेको भन्ने कुनै जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।

उनी शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए । विगत २४ वर्षदेखि भारत बस्दै आएका उनीसँगै श्रीमती र ४ छोराछोरी नेपाल फर्किएका थिए ।  अहिले उनको परिवार क्वारेन्टाइनमा बसिरहेको छ ।

Featured