देश

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौं, ३ असार-सुदूरपश्चिममा आज थप ३२ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा ३१ र काठमाडौंमा भएको परीक्षणमा १ गरी ३२ जनामा आज कोरोना पुष्टि भएको हो ।

जसमा कैलालीका २१, डोटीका ५, कञ्चनपुर, बझाङ र अछामका २/२ जनामा कोरोना पुष्टि भएको हो । कैलालीमा आज थप भएका २१ जनामध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपति क्वारेन्टाइनमा रहेका छन् भने २ जना मोहन्या विश्व माविको क्वारेन्टाइनमा छन् ।

काठमाडौंमा पुष्टि भएका १ जनाको भने स्थानीय तह खुलेको छैन । डोटीका ५ जना संक्रमित भने दिपायल सिलगढी नगरपालिका हुन् । अछाममा आज कोरोना पुष्टि भएका मेल्लेख गाउँपालिका– ४ र ७ का २२ र २४ वर्षीय युवक छन् ।

बझाङको थलारा ३ की १० वर्षीया किशोरी र खप्तडछान्ना– ३  का ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका १ र ९ का २ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ७९ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका १ सय २४ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका २ जनाको मृत्यु भइसकेको छ भने ५२ जना निको भएर घर फर्किसकेका छन् ।

Featured