देश

१ हजार १५८ संक्रमित निको भए

काठमाडौं, २ असार-संक्रमण मुक्त हुनेको संख्या दिनदिनै बढी रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११७ जना कोरोना भाइरस संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र ६ पुरुष गरी ७ जना, बाँकेको सन्तालियामा रहेको आइसोलेसन सेन्टरबाट १०, सहपूर्वामा रहेको आइसोलेसन सेन्टरबाट ७ र सुशील कोइराला क्यान्सर अस्पतालबाट ५ जना पुरुष डिस्चार्ज भएका छन् ।

त्यसैगरी, नारायणी अस्पताल वीरगंजबाट ३, भीम अस्पताल भैरहवाबाट २१ जना पुरुष र ५ जना महिला डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड-१९ क्लिनिक अस्पताल दैलेखबाट २५, आसोलेसन सेन्टर मान्मा कालिकोटबाट २४, तारताङ आसोलेसन सेन्टर १ र दुल्लु अस्पताल दैलेखबाट ५ जना पुरुष र २ जना महिला डिस्चार्ज भएका छन् ।

प्रदेशिक अस्पताल सुर्खेतबाट २ जना पुरुष गरी ११७ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए । डिस्चार्ज हुनेमा ८ जना महिला छन् भने १०९ जना पुरुष रहेका छन् । योसहित मंगलबारसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या साढे ६ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो ।

आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै, आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।

Featured