विदेश

पाकिस्तानी समर्थककै अगाडी ‘इन्डिया जिन्दाबाद’

काठमाडौं, भदौ १-जम्मु–कस्मिरबाट अनुच्छेद ३७० हटाएर राज्य पुनर्गठन विधेयक पारित गरिसकेपछि पाकिस्तान सरकार र उसका समर्थक तातेका छन्। संयुक्त राष्ट्रले पनि पाकिस्तानलाई साथ नदिएपछि पाकिस्तानका समर्थकले भारत विरोधी नारा लगाउन सुरू गरेका छन्।

भारतीय अनलाइन वेबदुनियाका अनुसार भारतविरूद्ध दक्षिण कोरियाको सियोलमा नारा लगाउँदै गरेका पाकिस्तानी समर्थकसँग भाजपा नेतृ साजिया इल्मी मिसिएर ‘इन्डिया जिन्दाबाद’ को नारा लगाइन्।

सियोलमा शुक्रबार भारतविरोधी नारा र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक भाषा प्रयोग गर्नेहरूको समूह तथा साजिया इल्मीसहित भाजपा र आरएसएसका नेताहरूको एक समूह आमुन्ने(सामुन्ने भए। एएनआईको एक भिडियोमा पाकिस्तानको झन्डा लिएका मानिसको एक समूह भारतविरोधी र मोदीविरोधी नारा लगाउँदै देखिन्छन्।

३ मिनेट २५ सेकेन्डको उक्त भिडियोमा साजियासँग केही मानिस एक ट्याक्सीबाट निस्केर अर्को समूहतिर गएको देखिन्छ। बिजेपी नेता साजियाले त्यहाँ प्रधानमन्त्री मोदीविरूद्ध अपशब्द नबोल्न अनुरोध गर्छिन्। त्यसपछि साजिया आफैं पाकिस्तानीको समूहमा पसेर ‘इन्डिया जिन्दाबाद’ नारा लगाउन सुरू गरिन्। उनको यो भिडियो भाइरल हुँदै छ । सोसल मिडियामा मानिसहरूले साजियाको देशभक्ति र साहसको प्रशंसा गर्दै छन् ।

Featured