देश

डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण

डडेल्धुरा, ३२ जेठ-डडेल्धुरामा स्टाफ नर्समा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ। शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको हो।

जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत एकजना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए।

अस्पतालमा कार्यरत ३३ वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण देखिएको विष्टले बताए। अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भयाे भन्नेबारे केही खुलाइएकाे छैन । उनका अनुसार कोरोना संक्रमित ती नर्स अहिले होम क्वारेन्टाइनमा छिन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत अनमीमा कोरोना संक्रमण पुष्टि भएकाे थियो। अमरगढी नगरपालिका-५ की २० वर्षीया ती युवतीमा गत सोमबार कोरोना पुष्टि भएको थियो। ती युवती पनि अहिले होम क्वारेन्टाइनमा छिन्। डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ भने ६ जना कोरोनालाई जितेर फर्किसकेका छन्।

Featured