देश

स्थानीय जनप्रतिनिधिहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सुरु

काठमाडाैं, २८ जेठ-स्थानीय जनप्रतिनिधिहरूको नेतृत्व क्षमतामा थप अभिवृद्धि गर्ने अभिप्रायले काठमाडाैंमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएकाे छ । कोभिड- १९ महामारीकाे संकट प्रतिकार्यका दौरान प्रभावकारी सञ्चार र समन्वयमा स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण एवं निर्णायक हुने हुँदा उनीहरूको नेतृत्व क्षमतामा थप अभिवृद्धि गर्न यही २८ जेठदेखि ३२ सम्म ‘जोखिमपूर्ण आपतकालीन संकटको अवस्थामा स्थानीय जनप्रतिनिधिको नेतृत्व विकास तथा सूचना सञ्चार र समन्वयसम्बन्धी कार्यशाला’ आयोजना गरिएकाे हाे ।

कार्यक्रम नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसीएमएस) र संयुक्त राष्ट्र विकास कार्यक्रमले संयुक्त रूपमा संकट व्यवस्थापकहरूका लागि आयाेजना गरेका हुन् ।

आईसीएमएसकाे प्राङ्गणमा सञ्चालन गरिएकाे साे प्रशिक्षण कार्यक्रममा स्थानीय सरकारका केही प्रतिनिधिहरूको प्रत्यक्ष रूपमा र विविध कारणले प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने जनप्रतिनिधिहरूले जुम एपमार्फत सहभागिता जनाएकाे आयाेजकले बताएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा दिइने यस प्रशिक्षणबाट देशभरका १०० पालिकाका जनप्रतिनिधिहरू प्रशिक्षित हुने आयाेजककाे दाबी छ ।  १५ वटा मोड्युलमा प्रशिक्षण गराइने यस कार्यक्रमले संकट व्यवस्थापकहरूको कार्यकुशलतामा थप अभिवृद्धि गराउने विश्वास लिइएकाे छ ।

Featured