देश

लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ ।

‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब नदिएको पाइएको छ भने अन्य कतिपयले लकडाउन सुरु भएदेखि दिनुपर्ने तलब नदिएको पाइएको छ’, महासंघले सार्वजनिक गरेको अअध्ययन प्रतिवेदनमा भनिएको छ ।

१४ जिल्लाका ५१ सञ्चार प्रतिष्ठानमा गरिएको अध्ययनमा अधिकांश सञ्चार प्रतिष्ठानहरूमा कार्यरत पत्रकारहरूले वैशाखदेखिको तलब नपाएको बताएका छन् । त्यसैगरी धेरैजसो सञ्चार प्रतिष्ठानले पत्रकारहरूलाई तलब घटाएर मात्र दिएको पनि पाइएको महासंघले जनाएको छ ।

महासंघले आम्दानी नभएको भन्दै पत्रकार निकाल्ने गरेको पाइएको जनाएको छ । ‘यो अवधिमा केही सञ्चार प्रतिष्ठानहरूले आम्दानी कम रहेको अवस्था देखाई पत्रकारहरूलाई कामबाट हटाउने गरेको पाइयो भने, अन्य कतिपयमा बेतलबी बिदा बस्न दबाब दिइएको देखियो’, प्रतिवेदनमा भनिएको छ, ‘संकटको अवस्थामा नियमित तलब नपाउँदा, तलब कटौती हुँदा र बेतलबी बिदामा पठाउँदा श्रमजीवी पत्रकारहरू जीविकोपार्जनका लागि नै पनि समस्यामा परेको अनुगमनका क्रममा देखिएको छ । यसैगरी कतिपय सञ्चारगृहहरूले पत्रकारहरूको बीमा समेत नगरेको अनुगमनका क्रममा पाइयो ।’

काठमाडौं उपत्यकाभन्दा बाहिरी जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरू थप समस्यामा परेको महासंघको रिपोर्टमा उल्लेख छ । ‘जिल्लाहरूबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिका बन्द अवस्थामा छन् भने सीमित पत्रपत्रिकाहरू पनि अनेकौँ समस्या झैल्दै प्रकाशित भएको अवस्था छ । अनलाइन सञ्चारमाध्यम, रेडियो र टेलिभिजन चरम आर्थिक संकटबाट गुज्रिइरहेका छन्’, प्रतिवेदनमा भनिएको छ ।

कोभिड–१९ को उच्च संक्रमण रहेको प्रदेश नं २, प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पत्रकारहरू सर्वाधिक जोखिम मोलेर काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

Featured