मस्को, जेठ २६–कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि लामो समयदेखि रुसको राजधानी मस्को शहरमा जारी लक डाउन आजदेखि खुकुलो पारिएको छ । मस्कोमा विगत ७४ दिनदेखि जारी लकडाउन उच्च सतर्कतका साथ स्थानीय सरकारले आजदेखि खुकुलो पारेको हो ।
मस्कोको स्थानीय सरकारले लक डाउन खुल्ला गरेसँगै आजदेखि पूर्ववतरुपमा बजार, पशल, कार्यालय, शैलुन तथा यातायातका साधन सञ्चालनमा आएको द मस्को टाईम्सले जनाएको छ । मस्कोमा लक डाउन अन्त्य गरिएपनी उच्च सतर्कता अपनाउनका लागि निर्देशन जारी गरिएको छ । उच्च सतर्कताका लागि सामाजिक दुरी कायम गर्न र पञ्जा तथा मास्क अनिवार्य गरिएको छ ।
अबको केही दिन भित्रैं मस्को शहरभित्र रेस्टुरेन्ट, फिल्म हल लगायतपनि सञ्चालनमा आउने जनाइएको छ । लक डाउन खोलिएसँगै राजधानी मस्को शहरमा सामाजिक दुरी कायम र उच्च सतर्कताका साथ चहलपहल सुरु भएको छ । यस अघि सुनसान देखिने सडकमा आजदेखि मानिसहरुको चहल पहल सुरु भएको छ ।
अब रुसका अन्य शहरहरु पनि क्रमश खोलिँदै जाने जनाइएको छ । रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा एकसाता अघिनै स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो ।
योसँगै अब रुसका अस्पतालहरुमा आगामी केहीदिन भित्र कोरोना भाइरसविरुद्धको औषधि दिन सुरू गरिन लागेको समाचार एजेन्सीहरूले जनाएका छन् । रुसका स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना संक्रमितहरुलाई उपचारका लागि आगामी जुन ११ बाट उक्त औषधि दिइने छ ।
रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका कोरोना संक्रमितहरूलाइ यो औषाधि दिइने बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । यो एन्टिभाइरसको रुपमा विकास गरिएको औषधिको नाम ‘एभिफ्याभिर’ राखिएको छ । कोरोना भाइरसविरुद्धको औषधि अहिलेसम्म कुनै पनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि विकास गरेको दावी गरे पनि प्रयोगका लागि सरकारले अनुमति दिएको छैन।
सम्भवतः कोरोना भाइरसविरूद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्ध बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दाबी गरेको छ । रुसमा मंगलबारसम्म कुल संक्रमितको संख्या ४ लाख ८५ हजार २ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र रुसमा ८ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्छि भएको छ । कुल कोरोना संक्रमित मध्ये ६ हजार ४२ जनाको ज्यान गएको छ । २ लाख ४२ हजार ३ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल २ लाख ३६ हजार ७ सय १४ जना उपचाररत रहेको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख छ ।
रुसमा बसोबास गर्ने कुनैपनि नेपालीलाई हालसम्म कोरोना भाइरसको संक्रमण देखा परेको छैन । विश्व स्वास्थ्य संगठनको सझाव अनुसार उच्च सतर्कता अपनाएका कारण रुसमा बसोबास गर्ने नेपालीहरु सुरक्षित रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस