देश

तेह्रथुममा २ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ २२-तेह्रथुमको आठराइ गाउँपालिकाका-२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आठराई गाउँपालिका-४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा बुधबार कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।

उनीहरूसहित अन्य १९ जनाको  १६ जेठमा स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिए । कोरोना पोजिटिभ देखिएकी युवती १३ जेठमा भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन् । उनी ६ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ ।

अर्का सङ्क्रमित सशस्त्र प्रहरी जवान भने गत २ महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिए । सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ । दुवैलाई बिहीबार धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइने प्रशासनले जनाएको छ । पहिलोपटक कोरोना भाइरस सङ्क्रमित देखिएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए ।

Featured