देश

भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिमा किचलो

काठमाडौं, १ भदौ–भक्तपुर नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि किचलो सुरु भएको छ। क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेपछि विवाद सतहमा आएको हो।

भक्तपुर नगरप्रमुख प्रजापतिले नेपाल अर्बद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाको नाममा अस्पताल सञ्चालन गरी भ्रष्टाचार भएको गुनासो आएकोले पुरानो समिति विघटन गरिएको जानकारी दिए।

अस्पतालमा कार्यरत सबै कर्मचारीले हस्ताक्षर गरी अस्पतालमा अनियमितता भएको जानकारी दिएकोले नयाँ समिति बनाएको जानकारी उनले दिए। यता निवर्तमान समितिका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठले भने पत्रकार सम्मेलन गर्दै अस्पताल निर्बाध सञ्चालन भइरहेका बेला नगरपालिकाले विनाकारण हस्तक्षेप गरेको आरोप लगाए। उनले नगरपालिकाको निर्णयविरुद्ध पुरानो व्यवस्थापन समिति अदालत जाने चेतावनी दिएकका छन्।

भक्तपुर नगरपालिकाले नगरप्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र १ का संघीय सांसद् प्रेम सुवाल र प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको नयाँ समिति गठन गरेको छ।

त्यस्तै, नेपाल अर्बद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य, अस्पतालका मेडिकल डाक्टर प्रतिनिधि र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन्। नयाँ समितिमा अस्पतालका मेडिकल निर्देशक सदस्य सचिव र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यका रूपमा चयन गरिएको छ।