साहित्य

३ कृति एकैसाथ सार्बजनिक

विराटनगर, साउन ३२–बेग्लाबेग्लै बिधाका तीनजना श्रजकहरुको कृति शनिबार विराटनगरमा एकैसाथ विमोचन गरिएको छ। गीतकार विजय कट्टेल ‘छहरा’को बालगीत संग्रह ‘नाच जुरेली’,गजलकार नवराज जमरकट्टेलको ‘बालुन भजन संग्रह’ र शंकरप्रसाद उपाध्याय पौडेलको उपन्यास ‘देशको माटो बोल्दैछ’ शिर्षकको तीन वटा कृति एकै साथ विमोचन गरिएको हो।

प्रतिभा पुरस्कार प्रतिष्ठानले स्थानिय परोपकार सामुदायिक भवनमा आयोजना गरेको संयुक्त विमोचन समारोहकाबीच ती कृतिहरुको विमोचन गरिएको हो। प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे,प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्राज्ञ दधिराज सुवेदी र प्राज्ञ विवश पोखरेलले संयुक्तरुपमा कृतिहरुको विमोचन गरे।

जुरेलीमा २० वटा र बालुन भजन संग्रहमा २२ वटा रचनाहरु समेटिएका छन्। यस्तै विमोचित उपन्यासमा देशभक्ति र सामाजिक मनोभावसँग जोडिएका बिषयबस्तु समेटिएको साहित्यकार दिनेशराज सुवेदीले जानकारी दिए । कार्यक्रममा संस्कृतिसंग जोडिएको बालुन गिति नृत्य समेत प्रस्तुत गरिएको थियो । झलकरमण नेपाल,खेमराज नेपाल र गोबिन्द ओझा लगायतको समूहले गिति नृत्य प्रस्तुत गरेको थियो ।

Featured