खेलकुद विदेश

ला लिगा जुन दोस्रो साताबाट, प्रिमियर लिगका थप दुई खेलाडीमा कोरोना

एजेन्सी, जेठ ११-कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगाका बाँकी खेलहरु जुनको दोस्रो साताबाट सुरु गर्न सरकारले अनुमति दिएको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले लिगका खेलहरु बन्द रंगशालामा ८ जुनदेखि गर्न सकिने बताएका छन् । ला लिगाका अध्यक्ष जाभिएर तेबासले १२ जुनदेखि शीर्ष लिगका खेलहरु सुरु हुने अपेक्षा रहेको बताएका छन् ।

तर ला लिगाले अझै पनि रोकिएका खेलहरु पुनः सुरु हुने मिति तय गरिसकेको छैन । यो हप्तादेखि ला लिगा क्लबका खेलाडीहरुले अधिकतम १० जनाको समूहमा प्रशिक्षण गरिरहेका छन् ।

यता इंग्लिस प्रिमियर लिगका थप दुई क्लबका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार, बिहीबार र शुक्रबार भएका पछिल्लो चरणको परीक्षणमा दुई क्लबका दुईजनामा संक्रमण देखिएको हो ।

सबै क्लबका खेलाडी तथा पदाधिकारी–कर्मचारीको तीन दिन लगाएर कोरोना परीक्षण भएको हो । कोरोना भाइरसको संक्रमण देखिएका खेलाडी वा पदाधिकारी हाल एक हप्ताका लागि सेल्फ आइसोलेशनमा गएका छन् । यो पटकको परीक्षणमा हरेक क्लबबाट ५० जनासम्मको परीक्षण भएको हो ।

१९ मेमा भएको पहिलो चरणको परीक्षणमा तीन क्लबका ६ जनामा संक्रमण देखिएको थियो । १७ मे र १८ मे गरी ७४८ जना खेलाडी तथा पदाधिकारीको परीक्षण भएको थियो ।

Featured