देश

सुदूरपश्चिममा झण्डै २५ हजार व्यक्तिमा कोरोना परीक्षण

डडेल्धुरा, १० जेठ-सुदूरपश्चिम प्रदेशमा हालसम्म २४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण गरिएको छ । १ फागुनदेखि परीक्षण नमुना संकलन सुरू भएकोमा शनिबारसम्म पीसीआर र आरडीटी विधिबाट २४ हजार ८ सय बढी व्यक्तिमा परीक्षण गरिएको हो ।

पीसीआर विधिबाट ४ हजार १ सय ९६ जनाको र २० हजार ६ सय १० जनाको आरडीटी  गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । ५ सय १९ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । पीसीआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म यहाँका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुष्टि भएकामध्ये ५ जना निको भएर घर गएका छन् भने ९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । हालसम्म आरडीटी गरिएकामध्ये ५६ जनामा नतिजा पोजिटिभ देखिएको छ । जसमा ३७ जनाको पीसीआर नेगेटिभ देखिएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १९ जनाको पीसीआर परीक्षणको क्रममा रहेको छ ।

सुदूरपश्चिममा शुक्रबार र शनिबार ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखाएको हो । शनिबार बैतडीका ४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

Featured