देश

किर्ते कसुरमा वडा सचिव थुनामा, वडाध्यक्ष फरार

परासी, १० जेठ-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित २ जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएको थियो । मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै अदालतले वडा सचिव कहार र रामग्राम–५ की रुक्शाना शेषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । फरार रहेका वडाध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रामग्राम–५ का सुबेदार शेष र रुक्शाना शेषको विवाहदर्ता प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुवेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न वडाध्यक्ष गुप्ता, वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थियो । उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले किर्ते कागज बनाइदिने प्रतिवादी गोविन्द र किर्ते कागज प्रयोग गर्ने रुक्शानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको तथा नन्दलाल कहारलाई ६० हजार धरौटीमा छाड्ने आदेश भएको अदालतका निमित स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । प्रतिवादीमध्येका कार्यालय सहयोगी अमरलालको भने केही दिन अगाडि मृत्यु भएको छ ।

Featured