NRNA खबर देश विदेश साहित्य

कविताः ‘म फेरि जन्मिनेछु’

डा. मन मूर्ति भुर्तेल/ मस्को (रसिया)

निश्छल र निर्मल नील गगनका
सेता बादल हत्केलामा टिप्दै पर्ख तिमी,
हतास मानसिकता र रोग ब्याधि सँग
लडदै, जितको माला भिर्दै आउनेछु !
सम्झनाका फूलबारीहरूमा रम्दै
यस धर्तिको सर्वश्रेष्ठ
सुन्दर फूल तिमीमा
म पराग भई जन्मिनेछु !!!
वीरता, कोमलता अनि सुन्दरता का
महान प्रेमिल गाथा हरूमा,
रसिँदै, झुम्दै, चम्किदै, लम्किदै
गुनगुनाउदै म आउनेछु !
अतिरंजित इतिहासका ग्रन्थहरूमा
नअटाएका स्वप्निल शब्दसागरमा,
डुब्दै गहिरिदै उत्रिदै डुब्दै
एक मोति बनि आउनेछु !!!
चढदै आस्थाका उच्च शिखर,
गहिरिदै बिश्वासका जरा संगै,
अनियन्त्रीत भाग्यलाई हत्केलाले छेक्दै
सुकेका ओठमा आशाको असार गाउनेछु !
ति निष्ठुर उदासीका बादल भगाऊँदै
पिडा र दुखका बा‘ध फुटाऊँदैस
ह्रदयमा तिम्रो एक प्रहर बास माग्दै
नियतिको बजारमा म फेरि जन्मिनेछु !!!
भूत भयंकर वर्तमान प्रलयंकर
बिछोडका वेदना अदृश्य अश्रु–धार,
निभ्ने छैन तर दिप आशाको
तातो रक्त धमनीले सिच्नेछु !
बिगतका यादका भेलहरू अनि
तिनमा डुबुल्की मार्ने मृदु मेलहरू,
यस नाट्य जीवनका बिचित्र चित्र
कोरी म इतिहास बिसाई आउनेछु !!!
भविष्यको ज्ञात कस्लाई पो छ,
उस्तै भावना उस्तै चाहना लिई पर्ख तिमी
साझा सपनाको सप्तरंगी ईन्द्रेणीमा
अनन्त प्रेमको सौगात लिई आउनेछु !
प्रेमको संपुर्ण संसार बोकी
अवश्यंभावी मृत्यु टोकी,
जीवन मंथन, सब तत्व समाहित
तिमीमा म फेरि जन्मिनेछु !!!

Featured