खेलकुद विदेश

सुरु भयो बुन्डेस लिगा, डर्टमुन्डको प्रभावशाली जीत

एजेन्सी, जेठ ४-कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दुई महिनाभन्दा लामो समय रोकिएको जर्मन बुन्डेस लिगा पुनः सुरु भएको छ । कोरोना भाइरसका कारण करिब १० साता रोकिएका खेल शनिबाररातिबाट सुरु भएका हुन् ।

कोरोना भाइरसको महामारी कम हुँदै गएपछि पुनः सुरु भएको जर्मन बुन्डेस लिगा युरोपको सबैभन्दा ठूलो लिग हो । बन्द रंगशालामा भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डले एफसी शाल्केमाथि ४–० को प्रभावशाली जीत निकालेको छ ।

 डर्टमुन्डको जितमा राफायल गेहेइरोले दुई तथा आर्लिङ ब्राउट होल्याण्ड र थोर्गन हजार्डले एक–एक गोल गरे । खेलको २९ औँ मिनेटमा गोल गर्दै होल्याण्डले डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका थिए । गेहेइरोले ४५ औँ मिनेटमा अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २–० ले अघि रहेको डर्टमुन्डका लागि दोस्रो हाफको ४८ औँ मिनेटमा हाजार्डले गोल गरे । गेहेइरोले ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुण्डले ४–० ले विजयी भयो ।

डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा रंगशालामा खेलाडी र खेलपदाधिकारी बाहेक कोहि पनि थिएनन् । उपस्थित सबैलाई दुई मिटरको दूरीमा राखिएको थियो ।

जितपछि दोस्रो स्थानको डर्टमुन्डको २६ खेलबाट ५४ अंक भएको छ । एक खेल कम खेलेको बार्यन म्युनिक ५५ अंकसहित शीर्ष स्थानमा छ ।शनिबार राति नै भएको खेलमा बोरुसिया मोन्च्याङ्ग ग्लाडवाचले फ्र्यांकफर्टलाई ३–१, हेर्था बर्लिनले होफेनहेमलाई ३–० तथा वुल्फबर्गले अगस्बर्गलाई २–१ ले पराजित गरेको छ । आरबी लिप्जिग र फ्रेइबर्गले १–१ तथा डुसेलडोर्फ र पाडेर्बनले गोलरहित बराबरी खेलेका छन् ।

Featured