देश

दोषी प्रमाणित भए रवि ५ वर्ष जेल जाने

काठमाडौँ, साउन ३१– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

बिहीबार चितवन प्रहरीले महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको सहयोगमा न्युज २४ टेलिभिजनका कार्यक्रम पस्तोता रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
बिहीबार राति १ बजेनै चितवन लगिएका उनीहरु तीन जनामाथि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ। म्याद थपका लागि प्रहरीले तिनै जनालाई अदालतमा उपस्थित गराइसकेको।

पुडासैनीले आत्महत्या गर्नुअघि गरेको भिडियो रेकर्डमा लामिछाने, कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएपछि उनीहरु पक्राउ परेका हुन्। रवि लामिछाने पक्राउको विरोधका उनका समर्थकले चितवनमा नारा जुसल गरिरहेका छन्। त्यस्तै, रविको समर्थनमा काठमाडौं लगायत विभिन्न स्थानमा नारा जुलुसको तयारी छ।

दोषी प्रमाणित भए पाँच वर्षसम्म कैद
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा लगाइएको आरोप प्रमाणित भए रवि लामिछानेसहित तीनै जनालाई पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।

मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ फौजदारी कुसर अनुसार आत्महत्या गर्न दुरुत्साहन दिन नहुने र कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गराउन हुँदैन। यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद सजाय र ५० हजार जरिमाना हुने व्यवस्था छ।

Featured