राजनीति

नामाकरणमा प्रदेश २ का दलहरुको आ–आफ्नै अडान

जनकपुर, साउन ३१–प्रदेश दुईको नामाकरणका विषयमा दलहरुले आ–आफ्नै अडान दोहोर्याएका छन्। प्रदेश सरकार गठन भएको झण्डै २ वर्ष हुन लाग्दा पनि प्रदेशको राजधानी र नामकरण हुन सकेको छैन।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नाम र राजधानीको प्रस्ताव दर्ता गाउन भदौ ५ गतेसम्मको समयसीमा दिएपछि दल र सांसदहरु आ–आफ्नो अडानमा लविङ गर्न कस्सिएका छन्। यतिबेला दलहरु आन्तरिक छलफलमा जुटेको नेकपा सासद रामचन्द्र मण्डलले बताए। उनले प्रदेश २ को नाम मिथिला वा भोजपुरा हुनुपर्ने बताए।

नेकपाकै सांसद शत्रुधन महतोले प्रदेशको राजधानी जनकपुरधाम, भाषा मैथिली हुनुपर्नेमा दलहरुबीच खासै मतभिन्नता नरहेको भए पनि नामको विषय पेचिलो बनेको बताए। आफूहरु ऐतिहासिक, भौगोलिकता र संस्कृतिलाई समेट्दै मिथिला, भोजपुरा, जनकपुर, जानकी वा जनक प्रदेशको पक्षमा रहेको महतोले बताए।

नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले प्रदेशको नाम मिथिला हुनेपर्नेमा जोड दिएका छन्। उनले सुरुदेखि नै मिथिलाबाहेक अन्य नाम मान्य नहुँने बताउँदै आएका छन्। सांसद यादवले मिथिलाको पछाडि भोजपुरा जोडे पनि आफूहरुलाई स्वीकार्य रहेको तर मधेश प्रदेशको पक्षमा कदापी हुन नसक्ने बताए ।

प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालका सचेतक परमेश्वर साहले मधेस र मधेसीको बाहुल्यता रहेको प्रदेशको नाम पनि मधेस हुनुपर्ने बताए ।सत्ताधारी समाजवादी पार्टीका सांसदहरु समेत मधेस प्रदेशकै पक्षमा रहेको उनको भनाइ छ। राजधानी जनकपुर हुनुपर्ने आफुहरुको धारणा रहेको साहको भनाइ छ ।

अहिलेसम्म सबै दलहरुबीच स्थायी राजधानीका विषयमा मतान्तर देखिएको छैन। तर नामको विषय भने दिन प्रतिदिन पेचिलो बन्दै गएको छ। मुख्यतः तीन दलबीच नामाकरणका विषयमा रस्साकस्सी हुने देखिएको छ।

प्रदेश सभाका १ सय ७ सांसदमध्ये सत्तारुढ समाजवादी र राजपाका ५५ सांसद छन्। प्रमुख प्रतिपक्षी नेकपाका ३२ र नेपाली कांग्रेसका १९ सांसद छन्। यो अवस्थामा ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अवस्था कसैको देखिदैन। सत्तारुढसँग दुईतिहाइ बहुमत नरहेकाले विपक्षी कांग्रेस वा नेकपामध्ये एकसँग नमिलि यो विषयको टुंगो लाग्ने देखिँदैन।

Featured