देश

एनसेल लाभकर विवादको निर्णय आज पनि भएन

काठमाडौं, साउन ३०–दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादका विषयमा सर्वोच्चमा अदालतमा बिहिबार पनि फैसला हुन पाएन। बिहिबार पनि निर्णय हुन नसकेपछि आगामी भदौ ५ गतेका लागि सारिएको छ। सर्वोच्च अदालतमा बिहिवार न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले लेख्न नभ्याएको भन्दै फैसलाको मिति सारेको हो। एनसेल लाभकर विवादमा यो दोस्रोपटक फैसला मिति सरेको हो।

यसअघि २१ गते तोकिएको फैसला मिति पनि सारिएको थियो । एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको क्रममा छ।

यसअघि वैशाख २४ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सर्वोच्चले पुँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासले दिएको आदेशलाई नै निरन्तरता दिएको थियो। गत माघ २४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत् पूर्ण इजलासको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो।

तिरिसकेको रकम घटाएर बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ ७ दिनभित्र तिर्न वैशाख ३ गते कर निर्धारणको पत्र पठाएको थियो। एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै कर असुली प्रक्रिया यथास्थितिमा राख्न भनेको थियो।

Featured