देश साहित्य

विराटनगरको आरोहण गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुँदै

विराटनगर, साउन ३०-आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव हुने भएको छ। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जनाइएको छ।

महोत्सवमा ९ वटा विद्यालयका एक–एक वटा नाटक दैनिक दुईपटक मञ्चन गरिने र आयोजकको तर्फबाट एउटा नाटक मञ्चन हुने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।

नाट्य महोत्सवका लागि विद्यालयको तर्फबाट मञ्चन गरिने नाटकहरु विद्यालयमा नाटक प्रशिक्षक नभएको खण्डमा आयोजकले नै निःशुल्क तयार गर्न सहयोग गर्ने अध्यक्ष क्षेत्रीले बताए।

आवेदनका लागि भदौ ७ गतेसम्म समय दिइएको छ। महोत्सवका लागि आएका आवेदन मध्येबाट कथावस्तु र अन्य प्राविधिक आधारमा महोत्सव आयोजकले छनौट गर्ने जनाइएको छ। विद्यालय तहदेखि नै कला तथा साहित्यमा विद्यार्थीहरुलाई सहभागी गराउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए।