देश

हिरासतको ताल्चा फोडेर दुई भारतीय थुनुवा फरार

झापा, साउन २८-सार्वजनिक मुद्दामा थुनामा रहेका दुई भारतीय नागरिक इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतको ताला फोडेर भागेका छन्। हिरासतको ताला फोडेर भाग्नेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल मंगलबार राति फरार भएका हुन्।

राति करिब साढे १ बजे हिरासतको ताला फोडेर उनीहरू भागेका थिए। झापा प्रहरीका अनुसार दुवैको खोजी भइरहेको छ। झापा प्रहरीका अनुसार दुई थुनुवामध्ये एक जनालाई दिउँसो भेट्न आएकी आमाले ‘केही चिज’ छोडेर गएकी थिइन्। ताला फोड्न उनले केही उपकरण छोडेर गएको हुनसक्ने अनुमा प्रहरीको छ।

प्रहरी निरीक्षकको दरबन्दी रहेको धुलाबारी प्रहरीको हिरासतबाट थुनुवा भागेपछि झापा प्रहरीले छानबिन थालेको बताएको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वको टोलीले छानबिन थालेको छ। हिरासत २४ सै घन्टा प्रहरीको निगरानीमा हुन्छ। थुनुवा भागेका बेला ड्युटीमा रहेका प्रहरीमाथि अनुसन्धान भइरहेको मैनालीले बताए।

‘हिरासतको ताला फोडेर भागेका बखत हिरासतको सुरक्षामा कसलाई खटाइएको थियो र प्रहरीले ताल्चा फोडुन्जेल कसरी पत्तो पाएन’ भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Featured