देश

सरकारद्वारा नेपाल रेडक्रसको दर्ता खारेज गर्ने चेतावनी

काठमाडौं, साउन २७-जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको लाई २४ घण्टे स्पष्टीकरण सोध्दै दर्ता खारेजी वा निलम्बनको कारबाही किन नगर्ने भनेको छ। भ्रष्टाचार र अनियमितताका कारण चरम विवादमा फसेको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी दर्ता खारेजी हुने अवस्थामा आइपुगेको हो।

वर्तमान कार्य समितिको वैधानिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र पदाधिकारी तथा कर्मचारीसमेतले विभिन्न विषयमा भ्रष्टाचार तथा अनियमितता गरेको सन्दर्भमा छानबिन भइरहेका बेला मंगलवार साधारणसभा राखिएपछि सरकारले संस्था नै विघटनको चेतावनी दिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार रेडक्रस सोसाइटीलाई मंगलवार अर्को आदेश नआएसम्म निर्धारित साधारणसभा स्थागित गर्न निर्देशनसमेत दिएको छ। सञ्जीव थापा नेतृत्वको विवादस्पद कार्य समितिले गुपचुप रुपमा साउन २८ गते बनेपामा साधारणसभा बोलाएको थियो।

नेतृत्वको वैधानिकता विवाद अदालतमा रहेको र कार्य समिमितका पदाधिकारी तथा कर्मचारीमाथि भ्रष्टाचार उजुरीमा छानबिन भइरहेका बेला अटेर गरी साधारणसभा बोलाई निर्देशन पालना नगरेकाले संस्था दर्ता ऐन २०३४ को दफा १२ को उपदफा ४ बमोजिम कारबाही किन नगर्ने ? भनी जिल्ला प्रशासनले २४ घण्टे स्पष्टीकरण मागेको हो।

५७ वर्षअघि स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको हालको नेतृत्व चरम भ्रष्टाचार र अनियमिततामा डुबेको भन्दै सरकारले छानबिन गरिरहेको छ। जिल्ला प्रशासनको पछिल्लो स्पष्टीकरणले संस्था विघटनको नजिक पुगेको देखिएको छ।

Featured