विदेश सूचना/ प्रबिधि

भारतले पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने

नयाँ दिल्ली, एजेन्सी, साउन २६-भारतले छिट्टै नै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने भएको छ। केन्द्रीय रेल मन्त्री पीयूष गोयलले विहिबार सबैलाई यसको जानकारी गराए।

ट्वीट गर्दै पियूषले यो जानकारी दिएका हुन्। ट्वीटमा पियूषले लेखका छन् ,‘भारतको पानी मुनि चल्ने रेल पहिलो पटक कोलकाताको हुगली नदीमुनि चलाइनेछ। यो उत्कृष्ट इन्जिनियरिङको उदारण हो। यो भारतमा निरन्तर भइरहेको रेल्वे सेवाको प्रगतिको प्रतीक हो। यो बनेपछि कोलकाताका मानिसलाई सुविधा पुग्नेछ भने पुरा देशलाई गर्वको महसुस हुनेछ।’

ट्वीटमा गोयलले एउटा भिडियो पोस्ट गरेका छन् जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिन्छन्। उनी मेट्रो सुरुङको निर्माणमा भएको प्रगतिबारे कुरा गर्दै गरेको देखिन्छन्।
भारतीय रेलसेवाद्वारा जारी गरिएको भिडियोमा दुई वटा सुरुङमा पानीको चुहावट रोक्नको लागि सुरक्षाको दृष्टिले चार आवरणबारे चर्चा गरिउको छ।

यही महिना सुचारु हुनेछ सेवा

नयाँ बन्ने ट्रेन कोलकाता मेट्रो लाइन २ को हिस्सा हुनेछ। यसको नाम ‘इस्ट–वेस्ट’ मेट्रो रहनेछ। १६ किमीको मेट्रो–लाइनको दुई फेज सुरु गरिनेछ।
पहिलो चरणमा साल्ट लेक सेक्टर–५को साल्ट लेक स्टेडियम स्टेशनसँग जोडिनेछ। पहिलो फेज पाँच किमी लम्बाईको हुनेछ । यो मेट्रोसेवा यही महिना सुरु हुनेछ।

२०१७ बाट निर्माण सुरु

यो लाइनलाई साल्ट लेक सेक्टर–५ स्टेशनसँग हावडा मैदानसम्म जोडिनेछ। मेट्रोको सुरुङ सन् २०१७ अप्रिलबाट बनाउन सुरु गरिएको हो। सुरुङ ५२० मिटर लामो र ३० मिटर गहिरो छ।
सन् २०१७ मा निर्माणकार्य सुरु गरिदाँ, परियोजनाका प्रमुख इन्जिनियर परशुराम सिंहले कोलकातामा भारतमै पहिले मेट्रो सेवा सुरु भएको र पानी मुनि चल्ने मेट्रो चलाउने पनि पहिलो सहर हुने बताएका थिए।

भारतको पहिलो मेट्रो सेवा कोलकातामा सुरु भएको भए पनि हालसम्म त्यहाँ एउटै मेट्रो लाइन चलिरहेको छ। त्यसलाई नर्थ–साउथ मेट्रोको नामले चिनिन्छ।

Featured