देश

सीमापार गर्नेलाई ५ हजार रुपैयाँ जरिमाना

कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ ।सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा ५ हजार जरिमानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

मङ्गला र ताराखोला गाउँपालिकाले २ वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र ५ हजार रुपैयाँ जरिमाना गर्ने निर्णय गरेको र सो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए ।

बैठकले गोरेटो र मोटरबाटोमा आवतजावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिँड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बसाउनुका साथै साथै ५ हजार रुपैयाँ जरिमाना गरिने मङ्गला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बताए ।रासस

Featured