विदेश

स्यान्डर्सद्वारा राष्ट्रपति उम्मेदवारको दौड परित्यागको घोषणा

एजेन्सी, चैत २७-डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका बर्नी स्यान्डर्सले आफ्नो चुनावी अभियान समाप्त गरेको घोषणा गरेका छन् ।

यससँगै आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पूर्व उपराष्ट्रपति जोए बिडेन डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने पक्का भएको छ ।

विन्कन्सिन राज्यमा मंगलबारराति मतदान भएसँगै स्यान्डर्सले उम्मेदवारीको दौड छाडेका हुन् । ७८ वर्षीय स्यान्डर्सले गएराति आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपतिको उम्मेदवार बन्नका लागि जति भोटको आवश्यकता पर्छ, त्यो मत आउने अवस्था नदेखिएकाले आफूले चुनावी अभियान परित्याग गरेको घोषणा गरेका हुन् ।

प्राइमरीका सुरुवाती निर्वाचनमा अग्रता बनाएका स्यान्डर्सले पछिल्ला मतदानमा खराब नतिजाको सामना गर्नुपरेको थियो । उनले स्वास्थ्य र असमान आयलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका थिए ।

Featured