मनोरंजन विदेश

अक्षय कुमारको नाममा दोस्रो राष्ट्रिय फिल्म पुरस्कार

काठमाडौं, एजेन्सी, साउन २५-फिल्म मिसन मंगलको रिलिज अघि अक्षय कुमारले ठूलै खुसी हात पारेका छन्। उनको फिल्म प्याडम्यानले ‘बेस्ट फिल्म अन सोसल इस्युज’ (सामाजिक मुद्दामा बनेको उत्कृष्ट फिल्म) का लागि राष्ट्रिय फिल्म पुरस्कारको लागि छानिएको छ। जब अक्षयलाई यसबारे थाहा भयो तब उनलाई विश्वास नै भएन।

सन् २०१८ मा रिलिज भएको प्याडम्यान सोसल ड्रामा हो जसलाई आर बाल्कीले निर्देशन गरेको थियो। यो फिल्मबाट ट्विंकल खन्नाले निर्माताको रुपमा डेब्यू गरेकी थिइन्। ट्विंकलले राष्ट्रिय पुरस्कारको घोषणा हुँदा आफू बाटोमा नै भएको ट्वीटमार्फत् जानकारी दिइन्। उनले ट्वीटरमार्फत् नै प्याडम्यानले राष्ट्रिय पुरस्कार भएको बारे जानकारी भएको बताइन्। सुरुमा विश्वास नलागे पनि पछि प्याडम्यानले साँच्चै नै अवार्ड पाएको कुरामा उनी विश्वस्त भइन्।

अक्षयले ट्विंकलको ट्वीटलाई रिट्वीट गरेर भने, ‘हो, र दोस्रो फोन मलाई आयो। प्याडम्यानले साँच्चै नै सामाजिक विषयमा बनेको उत्कृष्ट फिल्मको अवार्ड जितेको हो भन्ने कुराको पुष्टि गर्न हामी निकै उत्साहित थियौं। म यतिमात्र भन्न सक्छु। सारा संसारलाई भन, यसलाई कपी गर।’

प्याडम्यान अरुणाचलम मुरुगन्नतमको कहानी हो जसले सस्तो मूल्यको स्यानटरी प्याड बनाउने विधिको आविष्कार गरेका थिए। फिल्ममा राधिका आप्टेले अक्षयकी श्रीमतीको भूमिका निभाएकी थिइन् जबकी सोनम कपुर सामाजिक कार्यकर्ताको भूमिकामा थिइन्। सोनमले यो खबरमाथि प्रतिक्रिया जनाउँदै खुसी व्यक्त गरेकी थिइन्।

अक्षय कुमारले यसअघि रुस्तमका लागि उत्कष्ट नायकको विधामा राष्ट्रिय फिल्म अवार्ड जितिसकेका छन्।

Featured