देश

गण्डकी प्रदेशमा ९३ जनाको कोरोना नमुना संकलनः २ पोजेटिभ, ७३ नेगेटिभ

गण्डकी प्रदेशबाट कोराना भाइरस (कोभिड–१९) का ९३ जनाको नमुना संकलन गरिएको छ । ९३ वटा नमुनामध्ये रिपोर्ट आएका ७५ मध्ये ७३ जनाको नेगेटिभ र २ जनाको पोजेटिभ रिपार्ट आएको छ । अब १८ जनाको रिपोर्ट आउन बाँकी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा भेटिएका दुवै कोरोना संक्रमित बागलुङका हुन् । उनीहरूको अहिले धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरू दुवै बेल्जियमबाट ४ चैतमा कतारको दोहाहुँदै काठमाडौं र बागलुङ पुगेका थिए ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ४१ जनाको नमुना संकलन गरिएको छ । यस्तै, बागलुङका १८, स्याङ्जाका ८, पर्वतका १४, लमजुुङका ७, तनहुँका १, गोरखा २ र म्याग्दीका ३ जनाको स्वाब परीक्षण गरिएको छ ।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र नवलपुरमा अहिलेसम्म कुनै शंकास्पद बिरामी फेला नपरेका कारण नमुना संकलन नगरिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

Featured