देश

हत्या गर्ने योजना सहित आएका व्यक्ति हतियार सहित पक्राउ

मोरङ, साउन २२-हत्या गर्ने योजना सहित बिराटनगर महानगरपालिका-९ स्थित मेट्रोसिटी होटलमा आई बसेका भारत सितामढी घर भएका १९ वर्षीय कुनाल कुमारलाई २ थान अटोमेटिक पेस्तोल, ४ थान म्यागजिन र ८ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

भारतबाट उक्त हतियार र गोली सहित साथी राज कुमारसँगै बिराटनगर आएका कुनाल र बिराटनगर महानगरपालिका-८ बस्ने मन्नु गुप्ता समेतले सोही ठाउँका एक व्यक्तिलाई मार्ने योजना बनाई सर्लाही बस्ने हरिनारायण झा र भारत सितामढी बस्ने राकेस झा समेतलाई परिचालन गरेको अनुसन्धानबाट खुल्न आएको छ।

अनुसन्धानको क्रममा निज कुनाल तथा मन्नु गुप्ता र हरि नारायण झालाई समेत जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

उनीहरुलाई हातहतियार तथा खरखजाना ऐन तथा संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान गरी हाल अभियोजनको लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको सो कार्यालयले जनाएको छ।