देश

विदेशबाट फर्केका व्यक्तिको विवरण तयार गरिँदै

काठमाडौँ महानगरपालिकाले एक महिनायता विदेश भ्रमणबाट फर्केका महानगवासीको अभिलेख तयार गर्ने भएको छ । महानगरपालिकाले ३२ वटै वडालाई पत्र लेख्दै १८ फागुनपछि विदेश भ्रमण गरी फर्केका व्यक्तिबारे अभिलेख राख्न भनेको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनअनुसार प्रशासन विभाग प्रमुख नमराज ढकालले ३२ वटै वडालाई पत्र लेखेर यस्तो आग्रह गरेका हुन् ।

पत्रमा विदेश भ्रमण गरी १ मार्च २०२० देखि हालसम्म वडामा बसोवास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न र उनीहरु के–कस्तो अवस्थामा बसेका छन्, त्यसको विवरणसहित लगत तयार गरी पठाउन पनि सबै वडालाई आग्रह गरिएको छ ।

प्रशासन विभाग प्रमुख ढकालले हस्ताक्षर गरी ३२ वटै वडाध्यक्षलाई पठाइएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फहोरमैला व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट सञ्चालन गर्न आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यमा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।