देश

अवैध मास्क बेच्ने फार्मेसीमाथि कारबाही

गैरकानुनी रूपमा मास्कको कारोबार गर्ने धनगढीको एक फार्मेसी कारबाहीमा परेको छ । धनगढीको शहीद गेटमा सञ्चालित हाम्रो शुभारम्भ फर्मेसी कारबाहीमा परेको हो ।

शुभारम्भ फर्मेसीका सञ्चालक रेखा ऐरले बिलविनाका मास्कको कारोबार गरेको फेला पारेपछि बिहीबार धनगढी उपमहानगरपालिका, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले २० हजार जरिमाना गरेको हो ।

बिलबिजक जारी नगरी मास्क बेचेको पाइएकाले उनलाई जरिमाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमलबहादुर पुन मगरले बताए ।

उनले भने, ‘उनलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (घ) को कसुरमा सोही ऐनको दफा ३९ को १ (क) अनुसार कारबाही गरिएको हो ।’