देश

कोरोना संक्रमित युवतीसँगै आएका कैलाली र कञ्चनपुरका २ जना अस्पतालमा

कोरोना संक्रमित युवती आएको एयरवेजको क्यूआर ६५० नम्बरको जहाजमा कैलाली र कञ्चनपुर जिल्लाका २ जना पनि सँगै आएको खुलेको छ ।

सोही जहाजमा आएकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि कैलालीको धनगढीका युवक आफ्नो भाइसहित सेती प्रादेशिक अस्पतालमा आएका छन् ।

प्रहरीले धनगढीका १ जना युवक सोही जहाजमा आएको थाहा पाएपछि बुधबार दिउँसोदेखि खोजी सुरु गरेको थियो । उनी साँझ भाइसँगै मोटरसाइकलमा अस्पताल पुगेका थिए ।

अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । डा. जोशीले उनको थ्रोट स्वाव परीक्षणका लागि बिहीबार काठमाडौं पठाउने जानकारी दिए । त्यस्तै, उनको परिवारजनलाई घरमै सेल्फ आइसोलेसनमा राखिएको जनाइएको छ ।