देश

लकडाउनले छोएन इँटाभट्टालाई, जोखिममा मजदुर

भक्तपुर, १३ चैत-विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।

लकडाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् । तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन् । त्यहाँ सरकारको लकडाउनको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ ।

भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँटाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँटाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत करिब २० हजार मजदुरको दैनिकी भने उस्तै छ ।

चाँगुनारायण नगरपालिकाका–९ ताथलीस्थित इँटाभट्टामा काम गर्ने काभ्रे भकुण्डेबेँसीकी सन्तमाया विकको दैनिकी उस्तै छ । उनलाई अहिले बनाएको इँटा सुकाउने, चाङ लगाउने र थन्क्याउने चटारो छ । उनलाई सरकारले गरेको लकडाउनबारे थाहा छैन ।

ताथलीकै अर्को इँटाभट्टामा काम गर्ने रामेछापका सन्ते तामाङले सरकारले सबैतिर बन्द गरेको छरे भन्ने सुनेको बताउँदै गाउँमा मकै छर्ने, खेतीपाती गर्ने बेला भएकाले गाउँ फर्कन पाए सहज हुने बताए । ।

इँटाभट्टामा महिला, बालबालिकालाई ज्वरो आउनु, खोकी लाग्नु सामान्य भए पनि एकपटक सबै मजदुरको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइदिए ढुक्क हुने उनको भनाइ छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्ना नगरपालिकाभित्रका इँटाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना सङ्क्रमणबाट जोगाउन गरेको आग्रह अटेर गरेको बताए ।

इँटाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उनको भनाइ थियो ।

यता,प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने व्यवसायीलाई काम बन्द गरेर मजदुर घर फर्काउने व्यवस्था गर्न निर्देशन दिएको बताए ।

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बाले ८ दिनदेखि नयाँ इँटा बनाउने काम बन्द गरेको बताउँदै अब सबै इँटाभट्टा बन्द गर्ने तयारी गरेको बताए ।

उनीहरु घर नगएसम्म काम नदिँदा बरालिएर बजार जाने भएकाले बजार जान रोक्न पनि काममा लगाउन बाध्य भएको बताउँदै उहाँले अहिले बनाइसकेको इँटा व्यवस्थापनमा लागेको जानकारी दिए ।

२० जेठ गते भट्टामा आगो बन्द गर्ने पुरानो निर्णय भए पनि अहिलेको अवस्थामा मजदुरलाई गाडीमा हालेर घरघर पठाउने र १० दिनभित्र सबै भट्टाको आगो बन्द गर्ने तयारी गरेको अध्यक्ष ह्याम्बाले बताए ।

इँटाभट्टामा महिला तथा बालबालिकाका लागि काम गर्ने भन्दै आएका एनजिओ, आइएनजिओ यतिखेर भने गायब भएका छन् ।

इँटाभट्टामा मजदुर बिरामी भइरहेको अहिलेको समयमा उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर फर्काउनेबारे भने कसैले चासो नदिएको मजदुरको गुनासो छ । रासस