देश

कोरोना संक्रमित युवतीसँगै आएका सिन्धुपाल्चोका ३ जना क्वारेन्टाइनमा

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरू यही चैत ४ गते एउटै विमानमा काठमाडौं आएका थिए ।

मङ्गलबार साउदी एयरवेजमा आएका यात्रुको विवरण सार्वजनिक भएपछि सिन्धुपाल्चोकका ३ जना रहेको खुलेको थियो । एउटै जहाज प्रयोग गरेका जिल्लाका तीनै जनाको विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

युवती आएको जहाजमा आएका सिन्धुपाल्चोकका ३ जना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लले जानकारी दिए ।  उनीहरूमध्ये एक  होम क्वारेन्टाइनमा, एक काठमाडौं जोरपाटीस्थित ह्वाइट गुम्बा र अर्का व्यक्ति स्वयम्भूको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए । उनीहरूको परिवारलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको उनको भनाइ छ  ।