देश

विदेशबाट आएका नेपालीलाई लक्षित गरी १५ बेडको क्वारेन्टाइन निर्माण गरिने

रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरूलाई लक्षित गरी १५ शय्याको क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।मंगलबार गाउँपालिकामा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक विद्यालयमा हाललाई १५ शय्याको क्वारेन्टाइन बनाउने र आवश्यकताअनुसार यसलाई थप्दै लौजाने निर्णय गरेको छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनका आवश्यकता भएको बताए । उनले रोहिणी गाउँपालिकामा पनि धेरै जना वैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हालै घर फर्किएर आएकोले यस्ता व्यक्तिको निगरानी बढाइएको बताए ।

कोरोना संक्रमित एक युवती चढेकै हवाईजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकाले उनीमाथि विशेष निगरानी राखिएको यादवले बताए ।रोहिणी गाउँपालिका– २ बस्ने मेराज अहदमको अहिले भीम अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनलाई सोही क्वारेन्टाइनमा राखिने भएको छ ।

गाउँपालिका अध्यक्ष यादवले विदेशबाट आएका व्यक्ति तथा संक्रमितको आशंका गरिएका व्यक्तिलाई अनिवार्य रूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको बताए ।सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने वा अन्य शंकास्पद व्यक्तिलाई सम्बन्धित वडा, संघसंस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा गाउँपालिकाले क्वारेन्टाइनमा राख्नेछ ।

यसका लागि अत्यावश्यक औषधिलगायत सामग्रीको व्यवस्थाका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताए ।कोरोना भाइरस संक्रमित भए आफूलाई मात्र नभई आफ्नो परिवार हुँदै समाजलाई नै असर पार्ने हुँदा विदेशबाट आएका व्यक्तिहरू सेल्फ क्वारेन्टाइन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाइनमा बस्न यादवले अनुरोध गरे ।

यस्तै, गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको व्यक्तिगत विवरण समेत संकलन गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले यस्ता व्यक्तिहरूको विवरण संकलनका लागि स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरिएको जानकारी दिए ।