देश

तिलोत्तमाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई राहत दिने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनको समयमा काम गर्न नपाएको अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले सरकारले लागू गरेको लकडाउनको समयमा काम गरेर दैनिक छाक टार्न नसक्ने विपन्न परिवारलाई राहत उपलब्ध गराउने बताए ।

त्यसका लागि वडा तहबाट तथ्यांक ल्याइने र नगरपालिकाले राहत उपलब्ध गराउने छ । देशभर दैनिक ज्यालादारी गर्नेहरू सबैभन्दा बढी लकडाउनबाट प्रभावित भएको बताइरहँदा तिलोत्तमाले राहत दिने निर्णय गरेको हो । वडा तहबाट आएका तथ्यांकको विश्लेषण गरी नगरपालिकाले अति विपन्न परिवारका लागि चामल, दाल र नुन उपलब्ध गराउने नगरप्रमुख घिमिरेको भनाइ छ ।

‘लकडाउनका कारण कोही पनि भोकै बसेको सुन्न नपरोस भनेर हामीले यो निर्णय गरेका हौँ’ उनले भने, ‘हाम्रो नगरपालिकामा त्यस्ता परिवार अनुमानित १८ सय, २ हजार होलान । हामी उहाँहरूलाई राहत उपलब्ध गराउनेछौँ ।’

नगरपालिकाले राहत व्यवस्थापन तथा वितरणका लागि नगरउपप्रमुख जागेश्वरी देवि चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकाले हाललाई एक साता मात्र लकडाउन भएको अवस्थामा तत्कालको लागि १० किलोग्राम चामल, दुई किलोग्राम दाल र एक प्याकेट नुन उपलब्ध गराउने र लकडाउन बढ्ने राहत पनि बढाइने तिलोत्तमा नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानाकारी दिए ।