देश

श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्न नागरिक अगुवाको माग

कल्याण श्रेष्ठ, सुशीला कार्की, केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले सरकारसँग श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्न माग गरेका छन् ।

उनीहरूले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनहरूमा देखाएको गम्भीर चासो र लिएका कदमहरू स्वागतयोग्य भएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गर्न माग गरेका छन् ।

‘उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नु पर्छ। त्यस्तो प्याकेजमा निःशुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा फि मिनाह, निःशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत कार्यानवयन गर्न सकिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको संख्या ‍ठूलो छ । संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्छ । उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नु पर्ने वाध्यता नहोस् ।’