देश

भारतबाट फर्केका ८५ जना क्वारेन्टाइनमा

भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टाइनमा राख्न स्थानीय तहको जिम्मा लगाएको छ । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मङ्गलबार आएका जिल्लाका विभिन्न स्थानीय तहका ८५ जनालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका १७ र सुर्नया गाउँपालिकाका ११ जना रहेका छन् । यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिका ६÷६ जना, पुर्चौडी नगरपालिकाका ४ र शिवनाथ गाउँपालिकाका २ जना रहेका छन् ।

मङ्गलवार बिहानैदेखि भारतबाट आएका यात्रुहरु कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका थिए । उनीहरुलाई प्रदेश सरकारका तर्फबाट सम्बन्धित जिल्लामा पु¥याउने व्यवस्था गरिएको थियो ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन प्रजिअ पौडेलले आग्रहसमेत गरे । अरु स्थानीय तहमा पनि भारतबाट आउनेको सङ्ख्या धेरै भएकाले सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोधबाहेक केही गरेका छैनन् ।

सबाट शहरभन्दा गाउँ असुरक्षित बनेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गरिएको छ ।

यसैबीच गएको एक हप्ताको अवधिमा भारतबाट बैतडी फर्किएका नागरिकको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडावडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पौडेलले बताए ।

यस्तै, लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा घरटोल र छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि र कर्मचारी लागिपरेको छन् ।

अवैधरूपमा भारतबाट आएका ५ जना आइसोलेसनमा

भारतबाट आएका एक युवकसहित आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराइरहेका दुईको नमूना परीक्षणका लागि पठाइएको छ । भारतबाट आएका बैतडीको पुर्चौडीका एक युवक र दशरथचन्द नगरपालिकाकी ५८ वर्षीया वृद्धाको घाँटी र नाकको स्वाव ९र्याल० परीक्षणका लागि बुधवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको हो ।

जाँच गर्दा युवकलाई १००.८ डिग्री फरेनहाइट र वृद्धामा १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि आइसोलेसनमा राखिएको जिल्ला अस्पताल बैतडीका चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

युवकलाई दशरथचन्द नगरपालिकाले स्थापना गरेको जगन्नाथ बहुमुखी क्याम्पसको आइसोलेसनर वृद्धालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको उहाँले बताउनुभयो । वृद्धालाई पाँच दिनदेखि बिरामी भई अस्पताल आएपछि जाँच गर्दा ज्वरोसँगै खोकी र श्वासप्रश्वासको समस्या देखिएकोले कोरोना भाइरसको जस्तै सम्भावित लक्षण देखा परेकाले आइसोलेशनमा राखिएको हो । यस्तै वृद्धाका घरपरिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बृद्धा १० दिनअघि कैलालीको सुख्खडबाट बैतडी आएको बुझिएको छ ।

यस्तै आइसोलेसनमा रहेका युवक भने सीमानाका बन्द रहेका बेला अवैधरूपमा भारतबाट महाकाली नदीमा ट्युबमा तरेर नेपाल आएका हुन् । युवकसँगै ट्युबमा आएका अन्य ४ जनालाई पनि आइसोलेशनमा राखिएको छ तर तिनीहरुलाई भने १०० डिग्री फरेनहाइट भन्दा कम ज्वरो रहेको अस्पतालले जनाएको छ । प्रयोगशाला पठाइएको नमूनाको रिपोर्टपछि मात्रै उनीहरुमा कोरोना भए नभएको थाहा हुने बताइएको छ । रासस