देश राजनीति

प्रदेश २ ले गर्‍यो २५ करोडको राहत कोष स्थापना

कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावित भएकाहरूलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ ।

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले सरकारका तर्फबाट २५ करोडको राहत कोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरूको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

उनले यस राहत कोषमा सहयोग गर्न समाजिक संघ संस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरूलाई आह्वानसमेत गरिने बताए । यसका अतिरिक्त मन्त्रिपरिषदको बैठकले महामारी नियन्त्रणको लागि मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरि उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।

कार्यकारी समितिलाई आजैको मन्त्रिपरिषद बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागि चाहिने आवश्यक सामग्रीहरूको खरिद विशेष परिस्थितिको लागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन् ।

साथै मन्त्रिपरिषदले प्रादेशिक अस्पताल जनकपुरधाम, वीरगंज र राजविराजमा कोरोनासम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णयसमेत गरेको प्रवक्ता यादवले जनाए । तयारी गर्नुपर्ने समयमा प्रदेश सरकार उदासिन देखिएका थिए तर अन्य प्रदेशमा तत्परता देखिन थालिएपछि प्रदेश २ मा सक्रियता बढाइएको छ ।