NRNA खबर देश विदेश

नेपाली दुतावास मस्कोले भिसा जारी नगर्ने, सम्पर्क गरेर मात्र कन्सुलर सेवा

मस्को, चैत १०–रुसका लागि नेपाली राजदुतावास मस्कोले नेपाल भ्रमणमा आउने विदेशीलाई भिसा जारी नगर्ने भएको छ । राजदुतावासले एक सुचना जारी गर्दै नेपाल सरकारले मार्च २० देखि १२ अप्रिल २०२० सम्म विदेशमा रहेका सवै नेपाली र विदेशीलाई नेपाल आउन प्रतिबन्ध लगाएपछी भिसा जारी नगर्ने निर्णय गरेको हो । राजदुतावासले सो समय अवधीभरीनै राजदुतावासबाट विदेशीलाई भिसा जारी नगर्ने जनाएको हो ।

उक्त अवधिमा राजदुतावासले कन्सुलर सम्बन्धी सेवाका लागि फोन गरेर मात्र दुतावास आउन आग्रह गरेको छ । दुतावासले फोन मार्फत अग्रीम रुपमा तोकिएका कर्मचारीहरुलाई सम्पर्क गरेर समय मिलाएपछी मात्र कन्सुलर सम्बन्धी सेवाहरुका लागि आउन भनेको छ ।

सुचना मार्फत दुतावासले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अफिसियल वेभसाइट र कारोना(कोभिड–१९) सम्बन्धी सुचनाबाट अपडेट रहन नेपालीहरुलाई आग्रह गरेको छ ।

त्यस्तै विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमण रुसी महासंघ, बेलारुस, अर्मिनिया, मोल्डोभा, काजकस्तान र अजर बैजानमा पनि फैलँदै गएकाले ती मुलुकहरुमा बस्ने नेपालीहरुलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनका लागि दुतावासले अपिल गरेको छ । साथै दुतावासले उल्लेखित देशले जारी गरेका कोरोना भाइरसबाट बच्न अबलम्बन गर्नुपर्ने स्वास्थ्य सम्बन्धी सुचना र अनुरोधको पालना गर्न समेत आग्रह गरेको छ ।

Featured