देश

‘नागरिकता लिनेलाई कारबाही हुने, दिनेलाई किन नहुने’ : हृदयेश त्रिपाठी

काठमाडौं, साउन २१-नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारबाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिनेलाई पनि कारबाही गर्न माग गरेका हुन्। उनले ‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन?’ भनी प्रश्न गरे।

उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारबाही भएको सुन्नमा नआएको भन्दै उनले ती अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गरे। उनले भने, ‘नागरिकता त खारेज गरियो, जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन? कति जनामाथि कारबाही भयो? ती आफै कहीँ बजारबाट किनेका नागरिकता होइन होला। आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला। प्रमाणपत्र दिने अधिकारीहरु माथि के–के कारबाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रृत हुन्थ्यौँ होला।’

Featured