NRNA खबर देश विदेश

विदेशमा रहेका नेपालीलाई लगाइएको प्रतिबन्धप्रती एनआरएनएको आपत्ति

काठमाडौँ, चैत ७–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन रोक लगाएकोप्रती आपत्ति जनाएको छ । एनआरएनएको टोलीले परराष्ट्र तथा गृह मन्त्रालयमै पुगेर सो निर्णयप्रती आपत्ति जनाएको हो । शुक्रबार संघका बरिष्ठ उपाध्यक्ष डा. बद्री केसीसहितको टोलीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र गृहमन्त्री रामबहादुर थापा (बादल) लाई भेटेर विदेशमा रहेका नेपालीलाई आफ्नै मुलुकमा रोक लगाउनु व्यवहारिक नभएको भन्दै सो निर्णय तत्काल पुनर्विचार गर्न माग गरेको छ ।

उपाध्यक्ष डा. केसीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा गृहमन्त्री रामबहादुर थापा (बादल) सँग भेट गरेर सरकारको निर्णयले विदेशमा रहेका नेपालीलाई गम्भिर असर पुर्याउने भएकाले पनर्विचार गर्न आग्रह गरेको जानकारी दिए । केसीले सरकारको निणर्यले विदेशमा रहेका विद्याथी र वैदेशिक रोजगारीमा रहेका नेपाली समुदायलाई चरम कठिनाइ हुने बताए।

उनले संकटको घडिमा आफ्नै मुलुकमा आउन बन्देज गर्नु नागरिकको नैसर्गिक अधिकार हनन् भएको हुनेप्रती सरकारको ध्यानाकर्षण गराएको बताए । उपाध्यक्ष डा. केसीले कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा महामारीको अवस्था सृजना भएको बताउँदै यहि अवस्थामा विदेशमा रहेका आफ्ना नागरिकहरूलाई कुनै पनि अप्ठेरो नहोस् भन्ने सवालमा सरकार संवेदनशील हुनुपर्ने बताए ।

उनले हालको परिस्थितिमा सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश आउन प्रतिवन्ध लगाउनु जायज नभएको बताए । उनले प्रतिबन्धले वैदेशिक रोजगारीमा गइ करार अवधि पुरा गरेर स्वदेश फर्कन लागेका श्रमिक, भ्रमणमा तथा आफन्त भेट्न विदेश गएर भिसा सकिएका नेपालीलाई ठूलो असर परेको बताए । उनले सरकारको उक्त निर्णयले सबै भन्दा बढी मारमा नेपाली विद्यार्थी परेको जानकारी दिए ।

दुवै मन्त्रीसँगको भेटमा संघले तत्कालै सबैको लागि नभए पनि भिसा तथा श्रम स्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अप्ठेरोमा परेर स्वदेश नफर्की नहुने आपतकालीन अवस्थामा रहेकाहरूलाई आउन पाउने व्यवस्था मिलाउन माग गरेको केसीले जानकारी दिए। छलफलपछि मन्त्रीद्वय ज्ञवाली र थापा संघको मागप्रति सकारात्मक रहेको उपाध्यक्ष डा.केसीले बताए । उनले आपतकालीन अवस्था भएकालाई सहयोग पुर्याउन सरकार र संघबीच समन्वय गर्ने समझदारीसमेत बनेको बताए ।

संसारभर आतंक मच्चाइरहेको कोरोनाको संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई रोक्न भन्दै नेपाल सरकारले कोरोना प्रभावित सबै देशहरुबाट नेपाल आउने नेपालीसहित सबै यात्रुहरुलाई शुक्रबारदेखि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी अप्रिल १५ तारिखसम्मका लागि प्रतिबन्ध लगाउने निणर्य गरेको हो । युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिय, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन सरकारले रोक लगाउने भएको हो ।