खेलकुद विदेश

च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल सर्यो, कोपा अमेरिका स्थगित

एजेन्सी, चैत ५–च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल एक महिना पछि सारिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमका कारण च्याम्पियन्स लिग र युरोपा लिगका फाइनल खेल पछि सारेको हो।

आगामी मे महिनामा तय भएको च्याम्पियन्स लिग र युरोपाको फाइनल अब जुनमा हुनेछ । युईएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ र युरोपाको जुन २४ मा हुने जनाएको छ । यस अघि च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपाको फाइनल मे २७ मा हुने तय भएको थियो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण युईएफएले युरोकप फुटबल समेत एक वर्ष पछि सारेको छ । च्याम्पियन्स लिग र युरोपाको खेलहरु समेत स्थगित भइसकेका छन् भने युरोपेली लिगहरु पनि स्थगित गरिएका छन् । यस्तै दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका कप पछि एक वर्ष पछि धकेलिएको छ ।