खेलकुद विदेश

भारतद्वारा वेस्टइण्डिजविरुद्धको टी–२० सिरिजमाथि कब्जा, भारतलाई २–० को अग्रता

काठमाडौं, साउन २०-वेस्टइण्डिजविरुद्धको टी–२० सिरिज भारतले एक खेल अगावै कव्जा गरेको छ। गएराति भएको खेलमा डिएल मेथड अनुसार २२ रनले भारत विजयी भएपछि सिरिजमा २–० को अग्रता बनाएको हो।

अब तेस्रो तथा अन्तिम टी–२० भोलि हुने छ। टस जितेर पाहुना टोली भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाएको थियो। भारतका लागि रोहित शर्माले ६७ रन बनाउँदा विराट कोहलीले २८ तथा शिखर धवनले २३ रन बनाए।

अन्तिममा हार्दिक पण्ड्या र रविन्द्र जडेजाले नट आउट २० र ९ रनको पारि खेल्। वेस्टइण्डिजका ओसाने थोमस र सेल्डन कटरेलले दुई दुई विकेट हात पारे।

१६८ रनको लक्ष्य लिएर मैदान उत्रिएको वेस्टइण्डिजको खेल पानी परेर रोकिएको थियो। पानी पर्नुअघि वेस्टइण्डिजले १५.३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो।

त्यसपछि पुनः खेल शुरु नभएपछि भारत डिएल मेथड अनुसार २२ रनले विजयी भएको हो। लक्ष्य पछ्याउने क्रममा वेस्टइण्डिजको शुरुआत भने खराब रह्यो।

तेस्रो ओभरमा दुवै ओपनर व्याट्सम्यान एविन लुईस र सुनील नरायन आउट हुँदा स्कोर वोर्डमा ८ रन बनेको थियो। त्यसपछि रोवमन पावेल र निकोलस पुरनका बीचमा ७६ रनको साझेदारी गर्दै खेलमा फर्कने प्रयास गरेका थिए।

पावेलले ५४ तथा पुरनले १९ रनको योगदान गरे। भारतका क्रुणाल पाण्ड्याले एकै ओभरमा पावेल र पुरनलाई आउट गरेपछि वेस्टइण्डिज दवावमा आएको थियो । किरण पोलार्ड र सिमरोन हटमाएर क्रिजमा भएका बेला पानी पर्न शुरु भयो र त्यसपछि खेल शुरु नभएपछि भारत विजयी भयो।

Featured